Christmas र Xmas बीच के फरक छ?

क्रिसमसको बेला तपाईंहरूमध्ये कतिले सायद व्यापारिक केन्द्रहरूमा अङ्ग्रेजी वर्णमालाको एक्स्–एम–ए–एस (Xmas) लेखेको देख्नुभएको होला। यसलाई उच्चारण गर्नुपर्दा मानिसहरूले हम्मेसी ‘एक्समस’ भन्दछन्, तर यसको वास्तविक उच्चारण ‘एक्समस’ नभएर ‘क्रिसमस’ नै हुन्छ। कसरी ‘क्रिसमस’ भयो भन्ने सम्बन्धमा र यसको आलोचनात्मक समीक्षा छोटकरीमा गर्नेछौँ।
ग्रीक वर्णमालाको ‘काइ’ (Χ) र अङ्ग्रेजी वर्णमालाको ‘एक्स’ (Χ) उस्तै देखिन्छ (नझुक्किनुहोला), तर उच्चारण फरक छ। ग्रीकमा ‘काइ’ अक्षरबाट शुरू हुन सबै शब्दहरू ‘क’ बाट उच्चारण गरिन्छ, जस्तैः यो शब्द क्रिस्टस (Χριστός) हो। यसको सुरुआत ‘काइ’ बाट भएको छ। ग्रीक क्रिस्टस Χριστός वा क्रिस्टेसबाट ‘क्राइस्ट’ अर्थात् ‘ख्रीष्ट’ बनेको हो। अर्को कुरो, ख्रीष्टलाई जनाउनको लागि सङ्क्षिप्त रूपमा काइ ‘Χ‘ लेख्ने चलन धेरै पुरानो हो।
पहिलो शताब्दीका ग्रीक ख्रीष्टियानहरूले ख्रीष्टलाई सङ्केत गर्नको लागि माछाको चित्र कोर्दथे र त्यसको पुच्छरमा ‘काइ’ अक्षर देखिने गरी कोर्दथे।[1] यो चित्रमा हेर्नुस् त, पुच्छरतिर ‘काइ’ देखिन्छ। यस अर्थमा, झट्ट हेर्दा Xmas देखिने अक्षरले क्रिसमस नै जनाउँछ, अर्थात् क्राइस्ट+ मस = क्रिसमस। अङ्ग्रेजी एक्स वा अङ्क गणितको गुणन चिन्हलाई ख्रीष्टियानहरूले येशूको सङ्केत मानेको पाइन्छ। यसरी पनि भनेको पाइयो कि शैतान जहिले पनि घटाउ चिन्हसहित चोर भएर आउँछ, तर येशूचाहिँ प्रशस्त मात्राको जीवन दिनलाई गुणनको चिन्ह लिएर आउनुहुन्छ।[2] येशू टाँगिनुभएको क्रूस एक्स अक्षरको थियो भन्ने इतिहास पनि पढ्न पाइन्छ।
‘क्रिसमस’बाट ‘क्राइस्ट’ लाई विस्थापित गर्नको लागि एक्स लेखेर नास्तिकहरूले षड्यन्त्र गरेको अर्थ पनि लाइँदै आएको छ। यो षड्यन्त्र नै हो कि भनेर शङ्का गर्ने ठाउँ पनि छ किनकि तिनीहरूले Christmasमा ‘क्राइस्ट’ लेख्नुको साटो ‘काइ’ मात्र वा एक्स नै लेख्न रुचाउँछन्। उनीहरू जान्दछन् कि ग्रीक वर्णमालाको ‘काइ’ले ख्रीष्टलाई जनाउँछ भन्ने कुरो धेरैले बुझ्दैनन्। क्राइस्टको ठाउँमा एक्सले ठाउँ लिएछ भने एक्समस देख्दा मानिसहरूले येशूलाई झट्टै सम्झनेछैनन् र कसैले पनि ग्रीक ‘काइ’को अर्थ पनि खोज्नेछैन। मानिसहरूले बिस्तारी एक्समस भन्न थाल्नेछन्। क्रमशः क्राइस्ट शब्द विस्थापित हुँदै जाँदा नास्तिकहरूको षड्यन्त्र सफल हुने अनुमान गर्न सकिन्छ। क्रिसमसमा ख्रीष्टको नाम पूरै उतारिएको छ, जुन नास्तिक र अरू धर्मावलम्बीहरूलाई मन पर्दैन। ख्रीष्टलाई मन नपराउने, तर क्रिसमस मन पराउने यो बिडम्बनालाई नजिकबाट नियालौँ।
निष्कर्ष
झुक्किएर एक्समस नभनून् भन्नको लागि हामीचाहिँ C-h-r-i-s-t-m-a-s सहितको क्रिसमसनै लेख्ने बानी बसालौँ र कसैले Xmas लेखेको रहेछ भने पनि ‘क्रिसमस’ नै भनौँ।
[1] Karlen Evins, I Didn’t Know that: From “ants in the Pants” to “wet Behind the Ears”–the Unusual Origins of the Things We Say (New York: Scribner, 2007), 147.
[2] Larry Briney, Daily Grace for the Daily Grind: Daily Devotional Readings with Scripture and Topic Indes (np: Xulon Press, 2004), 348.