हाम्रा सबै परिस्थितिहरू परमेश्वरको अधीनमा छन्!

‘सबै परिस्थिति अनुकूल होला र प्रभुको सेवा गरौँला’ भनेर पर्खने हो भने तपाईंले पर्खनुभएको त्यो अनुकूल परिस्थिति कहिल्यै नआउन पनि सक्छ। परिस्थितिलाई अनुकूल र प्रतिकूल भनेर परिभाषित गर्ने हामी नै हो। तपाईंले परिस्थितिलाई प्रतिकूल देख्दै हुनुहुन्छ, अर्थात् आफूले चाहेको जस्तो देखिरहनुभएको छैन भने यो बिर्सन हुँदैन कि तपाईंलाई प्रभुले त्यस्तै परिस्थितिको लागि तयार पारिरहनुभएको पनि हुनसक्छ। त्यो अवस्थामा येशूले भन्नुभएको यो वचनलाई सम्झनुस्, ‘मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन’ (यूहन्ना ९,४ )। यहाँ पक्रनुपर्ने वाक्यांशः ‘दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले कम गर्न सक्दैन।’ वचनले पनि ‘सबै कुराको समय छ, भन्छ। परमेश्वरले तोक्नुभएको त्यो समय पक्रनको लागि हामी जहिले पनि जाग रहनुपर्दछ। समयको विषयमा हामी विचारशील हुनुपर्ने सम्बन्धमा पावल यसो भन्छन्, ‘यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ’ (रोमी १३,११)।
हामी परमेश्वरको अधीनमा छौँ भने हाम्रा अनुकूल र प्रतिकूल परिस्थितिहरू त्यसै पनि उहाँका अधीनमा हुँदछन्। याद गर्नुस्, हाम्रो परमेश्वरभन्दा माथि कोही पनि छैन, हाम्रो परिस्थितिहरू पनि छैनन्! आमेन!