तिहारमा टीको नलाए नि माला लाउँदा फरक पर्दैन रे!

एक हिसाबले हेर्दा टीका नलाउने, तर माला मात्र लाउने कुरो ठीकैजस्तो देखिन्छ। माला लाउँदैमा के हुन्छ र? मालामा कुनै समस्या पनि त छैन! छ त टीकामा हो, त्यो नलाए भैहाल्यो नि! आखिर माला लाउनु हुँदैन भनेर बाइबलले पनि भनेको छैन!
पहिला नै छोडिसकेका चाडबाड र त्यस्ता चलनहरूतिर फर्कनको लागि उल्काउने त्यस्ता ख्रीष्टियानहरू हाम्रा बीचमा छन्। त्यस्ताहरूसँग सङ्गत गर्नुभयो भने तपाईंलाई प्रभुदेखि टाढा लान नसके पनि उसले तपाईंलाई मनतातो विश्वासी बनाएरै छाड्नेछ। त्यस्ताहरूको सङ्गतबाट टाढा हुनुहोस्।
हाम्रा छिमेकीहरूले मान्ने चाडबाडलाई हल्कासँग लिनुहुँदैन। यो संविधान दिवस मनाएको जस्तो होइन। नेपालमा त्यस्तो कुनै चाडबाड छैन जसमा मूर्तिपूजा, देवीदेवता र भगवानसँग सरोकार नहोस्। त्यसमा ख्रीष्टियानहरूको आस्थासँग नमिल्ने थेओलोजी, अर्थात् ईश्वरशास्त्र लुकेको हुन्छ। हरेक चाडबाडले मुक्तिको सन्देस दिइरहेको हुन्छ, जुन हाम्रो ईश्वरशास्त्रसँग कति पनि मेल खाँदैन। माला लाउन र दक्षिणा दिँदा केही फरक पर्दैन भन्नेहरूलाई सायद त्यो दिन लाइने माला र दिइने दक्षिणाको माने भनेका उनीहरूको ईश्वरशास्त्रले परिभाषित गरिएका विधिहरू हुन्। यो हाम्रा विश्वास नगर्ने छिमेकीहरूको चलन हो। छिमेकीहरूको धार्मिक क्रियाकलापमा हामीले आपत्ति जनाउने होइन, तर उनीहरूलाई उनीहरूकै ठाउँमा राख्ने र आफू आफ्नै ठाउँमा राखेर सम्मान गर्ने हो। ती चलनहरूमाथि अनेक टीकाटिप्पणी गर्न र सम्झौता गर्नको लागि प्रभुले हामीलाई बोलावट दिनुभएको होइन। टीकाटिप्पणी गर्नुभयो भने तपाईं विरोधी बन्नुहुनेछ – विरोधीलाई कसैले आदर गर्दैन र उसले कसैलाई जित्न सक्दैन। अनि तपाईंले कुनै एउटा बिन्दुमा सम्झौता गर्नुभयो भने सम्झौता गर्नुपर्ने थप ढोकाहरू खोलिँदै–खोलिँदै जानेछन्। मानौँ, तपाईंले यस पालि माला मात्र लाउनुभयो भने अर्को पालि मालासँगै अन्य ढोका खोलिनेछ। एवम् रीतले देउसी र भैलोलाई एउटा साङ्गीतिक कार्यक्रमको रूपमा हेर्न थालिनेछ। तपाईंको विवेकले यी सबै कुरालाई ठीक ठहराउने क्रममा टीका थाप्ने कुरो पनि स्वीकार्य हुँदै जानेछ। कैयौँ कुसंस्कारहरू मण्डलीभित्र थाहै नपाई यसरी नै घुस्दछन्।
यसको ठीक उल्टो, तपाईंले यस पालि माला लाउन इन्कार गर्नुभयो भने, सम्झौता गर्नको लागि खोलिएको एउटा मात्र ढोका यही वर्ष बन्द हुनेछ र अर्को ढोका खोलिने गुञ्जायस नै रहँदैन।
चाडबाडको समाजशास्त्रीय पक्ष यो हो कि यसले ‘हामी’ भन्ने भावना जगाउँछ र समाजलाई जोड्नको लागि सिमेन्टको काम गर्छ। चाडबाड र धर्मजस्ता गतिविधिलाई फ्रेन्च समाजशास्त्री इमिल दुर्खिमले यसरी नै व्याख्या गरेका छन्, जुन केही हदसम्म सही पनि हो। दिदी बहिनीहरूसँग भेट्ने मौका यही बेला जुर्छ, तर ख्रीष्टियान विश्वासीको लागि यो भनेको जस्तो सजिलो छैन। मानौँ, परिवारमा तीन जना दाजुभाइ छन्, एक जनाले मात्र विश्वास गरेको छ भने तिहारको बेला दिदी वा बहिनीबाट दुई जनाले टीका थाप्छ र एक जनाले थाप्दैन। यस्तो बेला सम्झाइबुझाइले काम नगर्ने सम्भावना पनि हुन्छ – खाइदिएन, लाइदिएन भनेर चित्त दुख्ने र दुखाउने काम हुँदछन्। तैपनि दिदी वा बहिनीलाई राम्ररी सम्झाउने प्रयास गर्नैपर्छ। बुझ्ने र नबुझ्ने कुरो उनीहरूको हो। तपाईंसँग चित्त दुखेछ भने पनि उनीहरूले प्रभुलाई विश्वास गर्ने ढोका खुलै रहन्छ – एक दिन त बुझ्ला नि! तपाईंको कारण उनीहरूले पनि विश्वास गर्नेछन्। त्यस्ता घटनाहरू कैयौँ छन्, तर उनीहरूसँग सम्झौता गरिएको खण्डमा ‘हाम्रो फलाना पनि ख्रीष्टियान हो। चाडबाडको बेला यस्तो र उस्तो गर्छन्!’ भनेर तिनीहरूले उल्टै प्रचार गर्नेछन्।
मैले यसो भन्दै गर्दा, गैर–ख्रीष्टियान मित्रहरूले मसँग आपत्ति पनि जनाउनुहोला। मैले उहाँहरूको धार्मिक चाडबाडको विषयमा केही टीकाटिप्पणी गरेको छैनँ। मेरो आपत्तिचाहिँ ख्रीष्टियानहरूसँग हो, जसले न आफैलाई चिने न त हिजो उनीहरूले छोडेको भनिने संस्कारलाई नै चिने! यता पनि ठीक्क र उता पनि ठीक्क हुन खोज्ने दोधारे चरित्रलाई औँल्याएको मात्र हुँ, त्यो पनि तिनीहरूले मण्डलीलाई बाधा दिएको कारण!
एउटा कथा पढ्दैथिएँ। यो फ्रान्समा घटेको घटना हो। रोमन क्याथोलिक भिक्षुणीहरू बूढा–बूढीहरूको लागि चन्दा उठाउन घरघरमा जाँदोरहेछन्। एउटी भिक्षुणीलाई एउटा धनी मानिसले आफ्नो घरमा बोलाएर भन्यो, ‘म एक हजार फ्र्यान्क दिन्छु – फ्रान्सको त्यो बेलाको पैसा फ्र्यान्क, तर एउटा शर्त छ, मसँगै बसेर तपाईंले एक गिलास रक्सी पिउनुपर्छ।” त्यो भिक्षुणीको लागि अप्ठेरो प्रस्ताव थियो, र शुरूमा तिनी हिचकिचाइन्। एक हजार फ्र्यान्क भनेको ठूलो रकम थियो। त्यसबाट धेरै खाँचो टर्दथ्यो। त्यो फाइदा सम्झेर तिनले त्यो प्रस्ताव स्वीकार गरिन्। धनी मानिसको नोकरले रक्सीको बोतल ल्यायो र गिलासमा खन्यायो। भिक्षुणीले एक गिलास रक्सी स्वाट्टै पारिन्। त्यसपछि तिनी आफैले भनिन्, ‘महोदय, त्यति नै दाम दिनुहुन्छ भने, अझै एक गिलास पिउन तयार छु।” तिनले पिइन्।
तपाईंले एक पटक सम्झौता गर्नुभयो भने दसौँ पटक सम्झौता गर्नुपर्ने हुन्छ। बाटो खोलिएपछि सम्झौँता गर्नुपर्ने परिस्थितिको ओइरो नै लाग्नेछ। उम्कनै नसकिने परिबन्दहरूको ताँती नै लाग्नेछन्। बाइबलमा सम्झौता गर्ने त्यस्ता धेरै पात्रहरू छन्। राजा सोलोमनलाई हेर्नुस्। उनी एकैचोटि पतन भएका होइनन्। एउटा सानो गल्ती हुँदा आफूलाई जाँचेर सुधारेको भए फेरि उठ्न सकिन्थ्यो, तर एकमाथि अर्को गल्ती थपिँदै जाँदा उनी उठ्नै सकेनन्। अर्कोचाहिँ शिमशोन हुन्। समय छँदै सुधारेको भए ठूलो दुर्घटना हुन पाउने थिएन। यसकारण रोमी १२,२मा यस्तो चेताउनी दिइएको छ, ”यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।” यहाँ चलाइएको शब्दावली ‘संसारको ढाँचा’लाई एक छिन विचार गर्नुहोस्। तपाईंले पक्कै पनि एउटै आकारका इँटाहरू देख्नुभएको छ। इँटालाई एउटै आकार दिनलाई माटोको हिलो एकै किसिमको साँचोमा हालिन्छ अनि त्यसलाई बेस्सरी कसिन्छ। हाम्रो मण्डलीको एक जना भाइले त्यस्तो आधुनकि इँटा तयार पार्ने गर्छन्। साँचोमा हालेर कस्सिएपछि ती सबै उस्तै हुँदछन्। संसारसँग पनि एउटा यस्तो साँचो वा ढाँचा छ, त्यसले मानिसलाई संसारले चाहेको जस्तै आकारमा ढालिदिन्छ, जुन परमेश्वरले बनाउनुहुने आकारभन्दा फरक हुन्छ। मान्छे एकोहोरो हुनुको अर्थ यही हो। हामी ख्रीष्टको ढाँचामा चल्नुपर्ने मानिस हौँ, तर संसारको ढाँचामा ढालियौँ भने संसारको इच्छा पूरा गर्न बाध्य हुँदछौँ। पावलले रोमी १२,२ पदमा ‘यस संसारको ढाँचामा नचल’ भन्नुको पछाडि कारण हेर्नुभयो भने इस्राएलीहरूले संसारका चालचलनसँग सम्झौता गरेका थिए। अगाडि रोमी ११ अध्याय पढ्नुस्। चेताउनी दिने क्रममा यो कुरो उनले बताउँदैछन्। बाइबलभरि नै यस्ता चेताउनीका वचनहरू छन्। सुनेर पनि नसुनेकोजस्तो गर्ने छुट हामीलाई छैन।
निष्कर्ष
पहिला नै छोडेका चलनहरूतिर विश्वासीहरूले मन लगाएको देख्दा मलाई ज्यादै दुःख लाग्छ। यो इस्राएलीहरू मरूभूमिमा अड्किएको जस्तै हो। करिब १५ लाख इस्राएलीहरू मिश्र देशबाट मोशाको नेतृत्वमा फर्केका थिए, तर यहोशू र कालेब मात्र कनानमा पुगे। तिनीहरू कनानमा नपुग्नुको कारण केलाउनुहुन्छ भने यस्तै उल्झनमा अल्झनु हो। हाम्रो ख्रीष्टियान समाजमा एउटा अलि बलियो विश्वासी भनिनेले ‘माला लाउँदा फरक पर्दैन, तर टीकाचाहिँ नथाप्नू’ भन्ने बित्तिकै मण्डलीमा उल्झन शुरू हुन्छ। धेरै वाद–विवाद जन्मन्छ। उत्तर दिँदा–दिँदा हाम्रो ध्यान अन्यत्र भाँडिन्छ। बलियो विश्वासीले कमजोर विश्वासीलाई बाधा दिने मौका यहाँनेर पाउँदछ। यसकारण रोमी १४,१९मा पावलले चेताउनी दिएका छन्, ”हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।”
फेसबुक पेजमा रहेको भिडियोको लागिः ”एउटा ख्रीष्टियानले तिहारमा माला लाउँदा के फरक पर्छ र?”