Bible

तिहारमा चेलीहरूले दिने कोसेली लिने कि नलिने?

म मेरै परिवारबाट शुरू गर्छु। मेरो हजूरबाका तीन जना छोराहरू, मेरो बुबा माइलो! मेरो कान्छो काका गर्भमा हुँदा नै उहाँ बित्नुभयो – अनि कान्छा काकाको नाम नै गर्भेसिंह! सुन्दा अनौठो लाग्छ, तर इतिहास छ। त्यसो हुँदा धर्मकर्मको लागि आफ्नै हजूरबाका दाजुभाइपट्टिका फुपूहरू हाम्रो लागि अति नै महत्त्वपूर्ण थिए।  हाम्रो ठूलो बा, बा र काकालाई टीका लाइदिनको लागि अरू फुपूहरूले निकै ध्यान दिनुहुन्थ्यो। अन्त थाहा भएन, तर नुवाकोटे तामाङ चेलीहरू तिहारको बेला रक्सीको पोङ र सेल रोटीसहित अन्य कोसेली बोकेर माइत जाने चलन छ।

म २०४२ सालको कुरो गर्दैछु।  नौरख भनिने गाउँबाट हाम्रो माइला हजूरबापट्टिका फुपू सदाझैँ दाजुभाइलाई माला, टीका र टोकरीमा कोसेली लिएर आउनुभयो।  उहाँको ठूलो दाइ, मतलब हाम्रो ठूलोबाले प्रभुलाई विश्वास गरिसक्नुभएको थियो।  विश्वास गर्नेहरूको पक्षबाट पहिले नै ”हामी रक्सी पिउँदैनौँ, रक्सीको कोसेली नल्याउनू, टीका पनि लाउँदैनौँ, माला लाउँदैनौँ, माया प्रेम छ, आउँदा फरक पर्दैन” भनेर खबर दिइएको थियो। अरू फुपूहरू देखा परेनन्, तर त्यो फुपू आउनुभयो।  विश्वास नगर्ने अरू दाजुभाइको लागि भन्ने हिसाबले ठीकै पनि थियो।  आइसकेकी चेलीलाई अपमान गर्नु हुँदैन भनेर विश्वास नगर्ने अरू दाजुभाइहरूले टीका–माला र कोसेली स्वीकार गर्न दबाव त दिए, तर ती स्वीकारिएनन्। अनि अर्थ लाइयो, ”ख्रीष्टियान भएपछि चेलीहरू नै नचाहिनेरहेछ!”

यो घटनामा दुइटा समस्या वा परिबन्दहरू थिए।  पहिलो, येशूलाई विश्वास गरेको कारण दाजुभाइ फुटिसकेका थिए। दाजुभाइलाई फुटाउने र चलेको रीतिथिति नमान्ने धर्म भनेर ख्रीष्टियानलाई बदनाम गरियो। हाम्रो समाजले अझै पनि कसैको व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई स्वीकार गर्दैन। स्वेच्छाले चाड नमान्ने अधिकारको कदर यहाँ अझै पनि हुँदैन। ‘म मान्दिनँ’ भन्नेबित्तिकै धर्म भाँड्ने वा समाजविरोधीको बिल्ला भिराइहालिन्छ।  ख्रीष्टियानहरूमाथि समाज भाँडेको आरोप लाउनुमा यही सोचको करामत हो – ख्रीष्टियानले समाज भाँडेको छैन। भाँड्ने त अरू नै छन्।  दोस्रो, आइसकेकी चेलीलाई राम्रोसँग बुझाएर, हामी अब अलि फरक तरिकाले चलौँ भनेर सम्झाइबुझाइ गर्न हामीले जानेनौँ र सम्झाइबुभाइ गर्ने अवस्था पनि थिएन किनभने एक त, चाडबाडको बेला कसैलाई सम्झाउने–बुझाउने भन्ने अवस्था पनि नहुनेरहेछ, अनि ख्रीष्टियान भनेपछि हाम्रो समाजमा त्यतिकै खस–खस!  त्यसमाथि फुपूलाई अरू काका र ठूलाबाहरू पनि उचाले।

हामी एकदम नयाँ विश्वासी थियौँ। पुरानो चलनलाई छोड्छौँ भन्ने जोस मात्र थियो।  जस्तोसुकै मूल्य चुकाउन पनि तयार थियौँ। हामीले चर्च के हो, बाइबलमा के छ, कसरी प्रार्थना गर्ने भन्ने कुरो राम्ररी जानेका थिएनौँ। हामीमध्ये धेरैले आश्चर्यकर्महरू देखेका थियौँ। हाम्रो विश्वासको आधार भनेको त्यो हो। हामीलाई अगुवाइ गर्ने व्यक्तिमा मेरो काइँला बाजेपट्टिका काका बीर बहादुर तामाङ हुनुहुन्थ्यो, तर उहाँ स्वयमको पनि बप्तिस्मा भएको थिएन। त्यस बेला प्रभुलाई विश्वास गर्नु भनेको जेल जानको लागि तयारी गर्नुसरह थियो। नभन्दै, २०४४ सालमा विश्वासको खातिर हामीमध्ये १९ जनालाई जेलमा हालियो। गाउँले र आफन्तहरूले टिक्न नदिएपछि नुवाकोटबाट गोरखा जिल्लाको मिरकोटमा बसाइँ सर्न बाध्य भए।

हाम्रो कदमको समीक्षा

‘हामी टीका लाउँदैनौँ, माला लाउँदैनौँ, रक्सी पिउँदैनौँ’ भन्नेबित्तिकै हाम्रो समाजले हामीलाई सीधै धर्मछाडा र चेलीहरूलाई अपमान गरेको आरोप लायो। दिदी–बहिनीबाट टिका नथाप्ने, माला पनि नलाउने, रक्सीको पोङसहितको कोसेली पनि नस्वीकार्ने, तर तपाईंहरूलाई माया गर्छु भन्दाखेरी पत्याएनन्! हाम्रो सामाजिक संरचनाले यस्तो कुरो बुझ्न र बुझाउन साथ दिँदैन – खालि चित्त दुख्ने र दुखाउने कुरो मात्र हुँदोरहेछन्। यस्तो अवस्थामा खाइदिनुपर्ने, लाइदिनुपर्ने जस्ता चलनहरू हाम्रो निम्ति ठूलो परीक्षा र परिबन्द बन्दछन्।

तिनीहरूले सम्झे पनि नसम्झे पनि एउटा ख्रीष्टियानले बुझाउने कामचाहिँ गर्नैपर्छ। सम्झाउँदा पनि मानेनन् र चित्त दुखाउँछन् भने यसरी बुझ्नुस्, पहिलो कुरो, उनीहरू आफैले आफैलाई चित्त दुखाएका हुन्। येशूलाई विश्वास गरेर तपाईंसँग उनीहरूको चित्त दुख्छ भने त्यो उनीहरूको समस्या हो र उनीहरूकै थाप्लोमा छोड्नुपर्छ। दोस्रो कुरो, हिजो माया गर्ने आफन्तबाट अपमान भएछ भने यो येशूको खातिर हो भन्ने कुरो सम्झेर तिनीहरूको लागि प्रार्थना गर्नुपर्ने हुन्छ। चाडबाड नमानेर गुम्दैनन्, बरु ख्रीष्ट येशूमा प्राप्त गर्नको लागि ढोका खोलिएको हो। यसकारण विश्वासको खातिर परिवारमा आउने उथलपुथललाई स्वीकार गर्नुहोस्।

साह्रै चित्त दुखायो, यस पालिचाहिँ लाइँदिउँ न त भन्नुहुन्छ भने तिहार हरेक वर्ष आउँछ। तिहार मात्र होइन, यहाँ अनेकौँ चाडबाडहरू छन्। कहिलेसम्म र कहाँसम्म सम्झौता गरिरहने? मेरो अनुभव छ, विश्वास गरेपछि आफन्तहरूले ‘तँ मेरो लागि मरिस् र म तेरो लागि मरेँ’ भनेर ख्रीष्टियानहरूलाई बहिष्कार गर्ने परिवारहरूले ढिलो वा चाँडो कुरो बुझ्छन् र धेरैले येशूलाई विश्वास गरेका पनि छन्। मेरो बाउले मलाई त्यही भन्नुभयो, ”मेरो लागि तँ मरिस्!” अचम्म! मैले विश्वास गरेको १० वर्षपछि उहाँले विश्वास गर्नुभयो।  उहाँको विश्वासको रोचक यात्रा बारे कुनै दिन बताउँला। मेरा दौँतरीहरूमध्ये कतिले मसँगै प्रभुलाई विश्वास गरे, तर बाउले ‘तँलाई अंश दिन्नँ’ भनेपछि प्रभुलाई त्यागे।  तीमध्ये कतिले न अंश न त बुबाआमाको प्रेम नै पाए। यसकारण सांसारिक चालचलनलाई त्याग्ने अठोटले आफन्तहरूलाई चोट लाग्ने जोखिमसँग डराउनु हुँदैन।

बाइबलीय अवधारणा

ख्रीष्टियानहरूमाथि समाजमा अशान्ति ल्याउनेहरू भनेर आरोप लाइनुमा केही हदसम्म जायज नै छ।  येशूको नाम हाम्रो बीचमा आउनेबित्तिकै समाजले भन्दै आएको शान्ति खलबलिन्छ। म अहिले अति नै डरलाग्दो र गलत व्याख्या गरिएको एउटा खण्ड पढ्न गइरहेको छु, त्यो हो, मत्ती १०,३४–३६

येशूले भन्नुभयो, “म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। मानिसका शत्रु उसको आफ्‍नो परिवार भित्रकैहरू हुनेछन्‌।”

‘येशू तरवार चलाउनलाई आउनुभयो’ भन्नुको अर्थ आतङ्क मच्चाउन आउनुभएको होइन, बरु शान्ति ल्याउनको लागि हो। तरवारको कुरो गरेपछि कसरी शान्ति हुन्छ, भन्नुहोला? तरवार हतियार त हो, तर त्योभन्दा पनि न्यायको चिन्ह हो। बाइबलीय व्याख्याअनुसार, तरवारले न्याय र अधिकारलाई सङ्केत गर्छ। म बुद्ध धर्मको एउटा टिप्पणी पढ्दै थिएँ।  एउटा यस्तो वाक्य भेटियो, सुन्नुसः ”तरवार राजकीय सार्वभौम, शक्ति, अधिकार, कृपा, न्याय र बुद्धिको भेदको सङ्केत हो।”/1/ प्राचीन ग्रीक संस्कारले तरवारलाई न्यायको चिन्ह भनेर धेरै पहिलादेखि नै स्वीकारिसकेको थियो। यसकारण अदालतहरूमा तराजुसँगै तरवार भिरेकी न्यायकी मूर्तिलाई राखिन्छ। न्यायविना शान्ति असम्भव छ भन्ने विश्वव्यापी सिद्धान्त यहाँबाट सुरुआत हुन्छ।

येशू संसारमा नआउँदासम्म न्यायको उपस्थिति थिएन। मोशामार्फत दिइएको व्यवस्थाले न्याय ल्यायो, तर त्यो पूर्ण थिएन, तर त्यसलाई पूरा गर्नको लागि येशू अन्तिम न्यायकर्ता, अर्थात् तरवार भएर संसारमा आउनुभयो। यसकारण अहिले फैसला भइसकेको छ (यूहन्ना ३,१८–१९) र शान्ति पनि आइसकेको छ।

येशूले आतङ्कको कुरो गर्नुभएको होइन किनभने उहाँ अहिंसावादी हुनुहुन्थ्यो। त्यस बेला रोमको विरुद्ध हिंसात्मक आन्दोलन गर्ने भूमिगत यहूदी समूहहरू पनि थिए, तर येशू तिनीहरूबाट अलग रहनुभयो। तरवार उठाउन चाहने उदण्ड चेलाहरूलाई सुधार्दै उहाँले भन्नुभयो, ‘तरवार भिर्ने तरवारद्वारै मारिनेछ’ (मत्ती २६,५२)।  आफूलाई पक्रन आउनेहरूसँग पत्रुसले गडबड गर्न खोजे – हामीलाई थाहा छ, उनले प्रधान पूजाहारीको नोकरको कान काटे, तर येशूले त्यसलाई निको पारेर परिस्थितिलाई नियन्त्रणमा राख्नुभयो। यसकारण येशूले यहाँ चर्चा गर्नुभएको तरवार न्यायको चिन्ह हो।  बरु उहाँका कैयौँ चेलाहरू तरवारद्वारा मारिए, जस्तैः याकूब तरवारद्वारा मारिए (प्रेरित १२) र अझै मारिँदैछन्।

येशूको नाम लिएपछि संसारमा उथलपुथल हुन्छ किनभने जे शान्ति नै होइन, त्यसलाई शान्ति मानिरहेको अवस्थामा जब साँचो शान्ति आउँछ, तब अशान्त हुन्छ। येशूको नाममा अशान्ति मच्चायो भन्नेहरूले यो रहस्य बुझ्दैनन्। आफ्नो रीति, थिति, परम्परा, धर्म मात्र राम्रो भनिरहेका अवस्थामा येशूको नाम सुन्नेबित्तिकै हल्लिनुको अर्थ यही हो। ती हल्लिन्छन् किनभने त्यहाँ वास्तविक शान्ति नै थिएन। कुनै राजनीतिक तागत नै नभएका ख्रीष्टियानहरूको उपस्थितिलाई नेपालमा सत्ता पल्टाउनेसम्मका आरोप लाउनुको पछाडि कारण यही हो।

निष्कर्ष

हाम्रा परम्पराहरूले दिदी–बहिनीको भूमिकालाई धर्मकर्ममा सीमित बनाइदिएको छ।  तिनीहरूले यस किसिमको धर्मकर्म नगरिदिएको खण्डमा दाजुभाइको उद्धार हुँदैन भन्ने ईश्वरशास्त्र छ। हामीले छुट्याउनुपर्ने भेद यही हो।

रह्यो कोसेलीको कुरो!  हामीले सबै थोकलाई शैतानिकीकरण वा मूर्तिपूजाको दृष्टिले मात्र पनि हेर्नु हुँदैन।  यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा पावलले दिएको निर्देशन लागू गर्नुपर्छ। यसको लागि १कोरिन्थी १०,२५–३० पढ्नुस्। ती कतिका फाइदाजनक र भलाकारी छन् भन्ने कुरो जाँच्नको लागि विवेक चलाउनुपर्छ। सेल रोटी र फलफूलजस्ता कोसेली स्वीकार गर्दा खास समस्या देखिँदैन, तर स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषयमा विवेक चलाउनुपर्छ।  कोसेलीमा मादक पदार्थ अनिवार्य थोक हो। अनि चढाइएका थोकहरू पनि पर्दछन्। ती थोकहरू स्वीकार गर्न ख्रीष्टियानहरू बाध्य छैनन्। मानौँ, यसको साटो कसैले कोक वा पेप्सी देला रे! यसमा समस्या देखिँदैन, तर के लेनदेनको लागि कुनै चाडबाड नै पर्खनुपर्छ त? अरू दिन गर्न सकिँदैन? कतिले मेरा यी तर्कहरूलाई अतिवादी तर्क पनि भन्लान्, तर ख्याल गर्नुस्, मूर्तिपूजा र देवीदेवतासँग सम्बन्ध नभएका कुनै चाडबाड र चलनहरू छैनन्, जस्तैः कोसेलीहरूको लेनदेनमा पनि उनीहरूको धार्मिक वा ईश्वरशास्त्रीय अर्थ जोडिएको हुन्छ। कतिसम्म हामी उनीहरूतिर झुकाव बढाउने र कतिसम्म अलग बस्ने भन्ने रेखा कोर्न गाह्रो छ। बरु ती सबै गतिविधिहरूबाट अलग रहनु नै वेश देखिन्छ। मत्ती ५,१३ अनुसार हामी ”पृथ्‍वीका नून हौ,” तर झिँगा भन्किने चिनी हुनु भएन।

द्रष्टव्यः यो अझै खुला छलफल गर्नुपर्ने विषय हो।  नेपालमा अझैसम्म ख्रीष्टियानहरूको तर्फबाट सांस्कृतिक र ईश्वरशास्त्रीय बहस चलाइएको छैन।  यो लगभग ढिलो भइसकेको छ। यहाँ राखिएका विचारहरू मेरो व्यक्तिगत अनुभव र अध्ययनमा सीमित छ। यो कुनै समूहको विचार होइन।

End Notes

/1/ Robert Beer, The Handbook of Tibetan Buddhist Symbols (Chicago, IL: Serindia Publications,  2003), 42.

फेसबुक पेज भिडियोः तिहारमा चेलीहरूले दिने कोसेली लिने कि नलिने?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button