मण्डली इतिहासमा सेप्टेम्बर १४को सम्झना यसरी गरिन्छ!!
आज सेप्टेम्बर १४ तारिख! विश्व मण्डली इतिहासमा निकै महत्त्वपूर्ण घटना घटेका छन्। ई.सं. २५८मा दुष्ट रोमी सम्राट् भेलेरियनले कार्थेजको बिशप सिप्रियनको शिर काट्यो। भेलेरियन र डेसियसजस्ता सम्राट्हरूले ख्रीष्टियानहरूसँग क्रूर व्यवहार गरेका थिए।
त्यसै गरी सेप्टेम्बर १४, ४०७मा मण्डलीका धर्मगुरु जान क्रिसोस्टम निर्वासनमा हुँदा मरे। स्वास्थ्य खराब भएको बेला खराब मौसममा उनलाई नाङ्गो खुट्टाले यात्रा गर्न बाध्य पारियो। अति नै सकसमा पारिएको थियो विश्व मण्डली इतिहासमा क्रिसोस्टमको योगदानलाई ख्रीष्टको दोस्रो आगमन नहुँदासम्म सम्झिरहनेछ।
यी अग्रजहरूले मण्डलीको निम्ति पुर्याएको योगदान बारे जति चर्चा गरे पनि थोरै हुन्छ। मण्डली इतिहास कष्टबाट शुरू हुन्छ र कष्टबाटै अघि बढ्दैछ। खुसीको कुरा यही हो कि कष्टबाट जाँचिएर जित्नुभएको येशू स्वयम् नै मण्डलीको शिर हुनुहुन्छ, जसले आज पनि भन्दै हुनुहुन्छ, ”संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु” (यूहन्ना १६,३३)।