क्रिसमस’ शब्दको उत्पत्ति कहिलेबाट भयो?

अचेल चलाइने ‘क्रिसमस’ शब्द ई.सं. १०३८मा ‘क्रिस्टेस म्यास्से’ (Cristes Maesse) को रूपमा पहिलो पल्ट चलाइएको पाइन्छ। यसलाई प्रभुभोजको विधि सञ्चालन गर्ने सन्दर्भमा प्रयोग गरिन्थ्यो। ई.सं ११३१मा आएर यसले ‘क्रिस्टेस–मेस्से’ (Cristes-messe) को रूप लियो।/1/ याद गर्नुस्, Cristes Maesse र Cristes-messe दुवै प्राचीन अङ्ग्रेजी शब्दहरू हुन्। यसैबाट अपभ्रंश भएर ‘क्रिसमस’ बनेको कुरोमा शङ्का गर्ने ठाउँ छैन। नेपालमा हामीमध्ये कतिले ‘क्रिसमस’ र कतिलेचाहिँ ‘ख्रीष्टमस’ भन्ने र लेख्ने गरेका छन्।
‘क्रिसमस’ शब्द जन्मनुमा हिब्रू, ग्रीक र ल्याटिन जस्ता भाषाहरूले प्रमुख भूमिका खेलेको देखिन्छ। यसमा पनि दुइटा तर्कहरू अगाडि सारेका छन्। दुवै तर्कहरू बलिया छन् र सान्दर्भिक छन्।
‘क्रिसमस’ शब्द क्रिस्टस र मास दुई अलग शब्दहरू मिलेर बनेका हुन्। ख्रीष्टको लागि ग्रीक शब्द ‘क्रिस्टस’ (Christos) चलाइन्छ, र यही ‘क्रिस्टस’ बाट अङ्ग्रेजीमा क्रिस्टेस भयो। अनि ल्याटिन शब्द missa बाट म्यास्से (maesse) अपभ्रंश भयो – अपभ्रंश शब्द कतिको लागि नौलो हुनसक्छ, रूप फेरिएको भनेर बुझिदनुस्। म्यास्से शब्द पनि ल्याटिन missa आएको मानिन्छ। कालन्तरमा यसैबाटै ‘mass’ शब्द बन्यो, जस्तैः the holy mass शब्दले प्रभुभोजको अर्थ दिन्छ। बाह्रौ शताब्दीसम्म Christ’s Mass शब्दले क्याथोलिकहरूको मण्डलीमा ख्रीष्टको जन्म नभएर प्रभुभोज मानेको अर्थ दिँदथ्यो। जे होस्, क्रिस्टेस र म्यास्सेको मिलनबाट ‘क्रिसमस’ शब्द जन्मेको यो तर्क पनि आफ्नो ठाउँमा निकै बलियो देखिन्छ।
‘म्यास्से’ (maesse) शब्दलाई हिब्रू ‘मासेह’को अपभ्रंश रूप मानिन्छ। ‘मासेह’को अर्थ ‘उद्धारकर्ता/अभिषिक्त जन’ हो। ग्रीक शब्द ‘क्रिस्टस’सँग ‘मासेह’ को सङ्गमबाट ‘क्रिसमस’ शब्द बनेको देखिन्छ। यी दुवै शब्दको अर्थ ‘उद्धारकर्ता/अभिषिक्त जन’ हो। यसरी ग्रीक क्रिस्टस र हिब्रू मासेहको सङ्गमबाट अहिले हामीले चलाउने क्रिसमस शब्दको गठन भएको तर्क पनि निकै बलियो छ।
इतिहासको कालखण्डमा अचेल चलाइने क्रिसमस शब्दलाई विभिन्न हिज्जेमा जम्मा २२ प्रकारले लेखिन्थे।
निष्कर्ष
‘क्रिसमस’ प्राचीन मण्डलीहरूले कर्मकाण्ड सञ्चालन गर्ने क्रममा विकास भएको शब्दावली हो। यो शब्द बाइबलमा नभए पनि यो बिलकुलै बाइबलीय छ। येशूको जन्म बारे पूरै वृत्तान्त बताउनको लागि ‘क्रिसमस’ जतिको मीठो र सटिक शब्द हामीसँग छैन। यो शब्दको जन्म दिने ख्रीष्टियान साहित्यकार तथा मण्डलीहरू तारिफ गर्न लायकका छन्। ‘क्रिसमस’ शब्दमा ‘क्राइस्ट’ अर्थात् ख्रीष्टको नामले प्रमुख स्थान ओगटेको छ। तसर्थ, यो गैर–बाइबलीय होइन।
End Note
/1/ Joyzy Pius Egunjobi, Be Blessed 3: Questions on Christian Liturgical Time & Seasons (np: Lulu Press, 2017), 18.



