ख्रीष्टियानहरूले अबिर लाउन मिल्छ कि मिल्दैन?

एक जना विद्यार्थी भाइले सोध्छन्, म कक्षाको प्रथम विद्यार्थी हुँ। परीक्षाफल आउँदा मलाई स्कूलमा शिक्षक र साथीहरूले अबिर दलिदिन्छन्। मलाई लागिरहेको छ कि यो पाप हो। गलत हो। यस विषयमा तपाईं के भन्नुहुन्छ?
‘प्रश्न पनि कस्ता–कस्ता सोधिन्छ’ भन्ने मेरो मनमा आउँछ। मैले यस्ता प्रश्नहरूको उत्तर दिइरहेको देख्दा तपाईंलाई कहिलेकाहीँ अनौठो लाग्दो हो। सबै प्रश्नको उत्तर त म दिन्नँ र दिन पनि सक्दिनँ, तर जवाफ दिनु परेको खण्डमा प्रश्नको वजनलाई ध्यान दिन्छु। त्यो विद्यार्थी भाइले सोधेको प्रश्न म आफैसँग पनि थियो, जसकारण उत्तर दिन गइरहेको छु।
अबिर/सिन्दुर रातो रङको धूलो हो, जुन मानिस र देवीदेवताहरूका मूर्तिहरूमा हालिन्छ, यो हामीले देख्दै आएका छौँ, विशेष गरी सबैजसो पूजाहरूमा चलाइन्छ। प्राय सबैजसो धार्मिक क्रियाकलाप टीका लाएरै शुरू वा अन्त गरिन्छ। धार्मिक गतिविधिसँगै अन्य अवसरहरूमा अबिर लगाइन्छ, जस्तैः विजय जुलुस, बिदाइ, स्वागत आदि। अनुहारमा पूरै दल्नेदेखि निधारमा टीका बनाएर लाइन्छ। एक प्रकारले यो पूजाको एउटा भाग हो। यो चलन प्राय भारत र नेपालमा मात्र देखिन्छ, सायद यसमा धर्मको प्रभाव हुनसक्छ। कम्युनिष्टहरूले पनि अबिर लाउँछन्। यसमा धार्मिक माने कति होला भन्न सकिँदैन, तर रातो भएको कारण तिनीहरूले यसलाई क्रान्ति र विजयको प्रतीकको रूपमा लिएको पाइयो। यी गतिविधिहरूलाई नियाल्दा हाम्रा छिमेकीहरूले अबिर/सिन्दुरको प्रयोग गर्नु भनेको धार्मिक क्रियाकलापभित्र पर्छ। यस बारे दायाँबायाँका टीकाटिप्पणी नगरौँ, तर एउटा ख्रीष्टियानलाई अबिर वा टीका लाइदिँदा के हुन्छ भन्ने कुरो खुलदुलीको विषय रहेको कारण यसलाई बाइबलीय दृष्टिकोणबाट जवाफ दिनु जरुरी छ।
एउटा ख्रीष्टियानले कुनै पनि अवसरमा अबिर लाउने कामले मण्डलीमा विवाद निम्त्याउँछ, किनकि यसको प्रयोग मूर्तिपूजा र अन्य धार्मिक विधिहरूमा हुँदछ, जसकारण एउटा सच्चा ख्रीष्टियानको लागि अबिर र टीकाजस्ता थोकहरूको औचित्य रहँदैन। कुनै ख्रीष्टियान उम्मेदवारले चुनाव जित्यो वा त्यस्तो कुनै विजयोत्सव मनाउनु पर्ने अवस्थामा अरूले नै पछाडिबाट लगाइदिन्छ भने त्यसमा धेरै नाटीकुटी गरिराख्नु नपर्ला, वास्वतवमा यस्तो घटनाहरू विरलै घट्छन्, तर आफैले जानीजानी लाउँदा विवेकले दोष्याएको खण्डमा यसले विश्वासमा समेत आघात पार्न सक्छ।
बाइबलमा सीधै सिन्दूर/अबिर लाउनु र नलाउनु भनिएको छैन। यसैकारणले नै प्रश्न सोधिएको पनि हो, तर हामी स्पष्ट हुनुपर्दछ कि यो मूर्तिपूजामा प्रयोग गरिने सामाग्री हो। सिन्दुर/टीकाको धार्मिक अर्थ र ईश्वरशास्त्र नजान्ने सात समुद्र पारिका ख्रीष्टियानलाई नेपालमा यी थोकहरू लाइदिन्छन् भने नजानीकन लाइएको थोकमा उति गम्भीर हुनु नपर्ला, किनकि त्यहाँ सही वा गलत भनेर छुट्याउने गरी विवेकले काम गर्ने अवस्था रहँदैन, तर एउटा सच्चा नेपाली ख्रीष्टियानलाई यसको माने थाहा भएको कारण विवेकले उसलाई अबिर स्वीकार गर्न साथ दिँदैन, विवेक नै डामिएको छ भने कुरा बेग्लै!
बागबजारको अद्वैतमार्गमा रहेको शहीद शुक्र माविमा कक्षा १०मा पढ्दा मैले पनि यस्तै समस्या बेहोरेको छु। एउटा उत्सवमा सरस्वतीको नाममा शपथ खानुपर्ने र अबिर लाउनुपर्ने अवस्था आयो। मैले शिक्षकहरूलाई बताएँ, ”म ख्रीष्टियान हुँ। म सरस्वतीको नाममा शपथ खाँदिनँ। अबिर पनि लाउँदिनँ। अप्ठेरो नमानिदिनुस्!” यसो भनेपछि मेरा कक्षासाथीहरू र मलाई चिन्ने जुनियरहरूले एकअर्कालाई अचम्भित भएर हेराहेर गरे!
स्कूलमा घटेको त्यो घटनाको केही वर्षपछि म झन् चकित भएँ किनभने त्यही स्कूलमा पढ्ने एक जना जुनियर भाइले प्रभुलाई विश्वास गरे। अनि हामी एउटै मण्डलीमा सँगै भयौँ! मैले अबिर लाउन र सरस्वतीको नाममा शपथ खान नमानेको घटनाबाट आफू निकै प्रभावित भएको कुरो अरूलाई बताए! ‘म अबिर लाउँदिनँ’ भनेर भद्र ढङ्गले बताउँदा पनि यसले सुसमाचारको लागि ढोका खोल्नसक्छ।
तपाईंले के गर्दै हुनुहुन्छ भन्ने कुरो तपाईंले चाल नपाउने गरी नजिकबाट भाइबहिनीहरूले हेरिरहेको हुनसक्छ। मैले अबिर नलाउँदा खास समस्या थिएन, तर अरू ठाउँ र परिस्थितिमा समस्या हुनसक्छ। विरोध आउनसक्छ। जस्तोसुकै परिस्थितिमा पनि सम्झौता गरिएन भने यसले थप सम्झौता गर्नुपर्ने परिबन्दका ढोकाहरू सधैँको लागि बन्द गर्छ, तर एक छिनको लागि एउटा सानो मोडमा सम्झौता गर्दा त्यसले हामीलाई अर्को मोडमा पनि सम्झौता गर्नुपर्ने नयाँ अवस्था सृजना गर्नेछ। हाम्रो जीवनमा परीक्षालाई कतिसम्म काम गर्न दिने भन्ने कुरो हाम्रै हातमा छ।
निष्कर्ष
अबिर वा टीका हाम्रा छिमेकीहरूको ईश्वरशास्त्रमा रहेको आराधनाको एउटा विधि हो। जसरी ख्रीष्टियान आराधनाको औचित्य उहाँहरूमाथि रहँदैन, त्यसै गरी उहाँहरूको आराधनाको औचित्य साँचो ख्रीष्टियानमाथि पनि रहँदैन। यो मूर्तिपूजासँग सीधा सम्बन्ध भएको एउटा धार्मिक विधि हो। ‘आफूलाई मूर्तिबाट अलग राख’ (१यूहन्ना ५,२१) भन्ने बाइबलको आज्ञा तपाईंको लागि पर्याप्त छ। यति बुझिसकेपछि, टीका, अबिर वा सिन्दुर लाउने क्रियाकलाप बारे विभिन्न टीकाटिप्पणी नगर्नुस्। कसैले लाइदिन खोज्छन् भने तपाईंले मीठो बोलीमा भन्न सक्नुपर्छ, ‘यो मेरो लागि आवश्यक छैन। मैले लाउने गरेको छैनँ।’ कसैले जबरजस्ती गरेर लाइदिन्छ भने त्यसमा धेरै नाटीकुटी र वाद–विवाद नगर्नुस्, किनभने यसले तपाईंलाई कुनै किसिमले पनि हानि गर्न सक्दैन। यति हो कि सीसायुक्त अबिरले छाला र आँखामा हानि गर्छ भन्ने जानकारी फागुको बेला जानकारहरूले दिने गरेको हुँदा, स्वास्थ्यमा विचार पुर्याउनुपर्ने देखिन्छ।



