होसन्ना शब्दको अर्थ हेर्नु होस्

ख्रीष्टियानहरूले आराधनामा अत्याधिक चलाउने शब्दहरूमा ‘होसन्ना’ पनि एउटा पर्दछ। यसको अर्थ ‘हामीलाई बचाउनुहोस्!’ यो ग्रीक शब्द हो, जुन यसरी लेखिन्छः ὡσαννά! धेरैजसो विद्वानहरू विश्वास गर्दछन् कि यो हिब्रू शब्दबाट आएको हो, जसमा ‘याश’ (יָשַׁע-) र ‘आना’ (אָנּאָ) मिलेर ‘होसन्ना’ बनेको छ। ‘याश’को अर्थ ‘बचाउनु’ र ‘आना’को अर्थ ‘म बिन्ती/प्रार्थना गर्छु।’ ‘होसन्ना’ शब्दको रचना यसरी भएको अनुमान गरिन्छ, तर ठोकुवा गर्न सकिँदैन। यो मुक्तिको घोषणा गर्नको लागि चलाइन्छ। ‘होसन्ना’लाई अनुवाद गर्दा ‘बिन्ती छ, बचाउनुहोस्’ भनेर बुझ्ने र बुझाउने गरेको पाइन्छ।
बाइबलमा होसन्ना
बाइबलभरि लगभग ६ पटक ‘होसन्ना’ शब्दहरू चलाइएका छन्। येशू यरूशलेममा प्रवेश गर्ने बेला मानिसहरूले प्रशंसागान र उत्सव मनाउँदा ‘होसन्ना’ भनेर नारा लाए। वास्तवमा यो ‘नारा’ नै हो। नयाँ करारमा ‘होसन्ना’ शब्द चलाइएका खण्डहरूः मत्ती (२१,९–१६), मर्कूस (११,९–१०) र यूहन्ना (१२,१२–१५) हुन्।
यहूदीहरूका चाडहरूमा भजनसङ्ग्रह ११८,२५ पढिन्थ्यो, जहाँ ‘होसन्ना’को अवधारणा पाइन्छः ”हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्।” विशेष गरी यहूदीहरूले छाप्रोवासको चाड मान्ने बेला होसन्ना भनेर गाउँदथे। यस चाड बारे लेवी २३,३३–४३ मा लेखिएको छ। येशू यरूशलेम प्रवेश गर्नुहुँदा ‘होसन्ना’ गाइयो, तर अगिल्लो वर्षहरूमा तिनीहरूले गाउँथे कि गाउँदैनथे भन्ने कुरो स्पष्ट छैन।
‘होसन्ना’को अर्थ ‘प्रभु बचाउनुहोस्’ भन्नेमा मात्र सीमित नभएर यो मुक्तिको लागि गरिने पुकार हो। दुइटा फरक धारहरूबाट यसलाई बुझ्ने गरेको पाइन्छ, एकातिर सहायताको निम्ति पुकार/गुहारको अर्थ दिन्छ भने अर्कोतिर प्रशंसाको रुवाइ, अर्थात् यो आनन्दको अभिव्यक्ति हो।
होसन्नाको नारा लाउनेहरूले प्राय भन्ने गर्दथे, ‘अन्तमा, हामीकहाँ मुक्ति आएको छ। लामो समयको पर्खाइपछि, अन्तमा आएको छ।” यस मानेमा यो राजनीतिक मुक्तिसँग सरोकार राख्ने शब्द हो। इतिहासलाई हेर्ने हो भने इस्राएलीहरू फारोदेखि रोमको चरम दमनमा परे। विभिन्न कालखण्डमा हेर्ने हो भने तिनीहरू अनेक पीडा खेप्न बाध्य पारिए। यस्तो अवस्थामा ‘होसन्ना’ले आशा दिँदथ्यो।
येशूलाई पनि यहूदीहरूले रोमबाट छुटकारा दिने राजनीतिक मसीहको रूपमा लिएको थिए, जसकारण उहाँ यरूशलेममा प्रवेश गर्नुहुँदा तिनीहरूले राजा/राजनीतिक मुक्तिदाताको रूपमा स्वीकार गरे, तर उहाँ संसारमा शासन गर्न आउनुभएको होइन, हृदयमा शासन गर्न आउनुभयो। यहूदीहरूले सोचेको जस्तो रोम/शत्रुलाई हराउनको लागि आउनुभएको होइन, बरु अझ डरलाग्दो शत्रुलाई हराउन आउनुभएको हो, त्यो शत्रु पाप हो। ‘होसन्ना’को माध्यमबाट येशूले शत्रुलाई हराइसक्नुभएको अर्थ हामीलाई पनि दिन्छ।
निष्कर्ष
यरूशलेममा प्रवेश गर्ने बेला येशूलाई मानिसहरूले मुक्तिदाताको रूपमा स्वागत गरे र नारा लाए,
”अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए, “होसन्ना!
धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!
धन्य होस्, हाम्रा पिता दाऊदको त्यो आउने
राज्य, परमधाममा होसन्ना” (मत्ती २१,९–१०)! आज हामीले पनि एक मात्र मुक्तिदाता येशूलाई हाम्रो हृदयको यरूशलेममा राजा हुनको लागि स्वागत गर्नु परेको छ, जहाँ उहाँ मारिनुहुन्छ, गाडिनुहुन्छ र बौरी उठ्नुहुन्छ। हरेकको जीवनमा येशू होसन्नाको नारा लाइन मिल्ने आउनुहुन्छ। येशूलाई गीतका लयहरूसँगै हाम्रा हृदयहरूमा स्वागत गरौँ। ‘होसन्ना!’