खजूरको चाड सुरुआत यसरी भयो

कतिले पाम सन्डे, अर्थात् खजूरको आइतबार के हो र ख्रीष्टियानहरूले यसलाई मान्नुपर्छ कि पर्दैन भनेर प्रश्न सोधिरहन्छन्। यो चाड मान्नुपर्छ वा पर्दैन भन्ने विषयमा सायद बाझिएका विभिन्न मतहरू पनि होलान्, तर बाइबलको कुनै घटनालाई आधार बनाएर ख्रीष्टियान विश्वासलाई संस्थागत गर्नको लागि चाडको रूप दिइन्छ भने यसलाई धेरै नाटीकुटी गर्नु हुँदैन, यति हो कि चाडको नाममा भित्रिने कुसंस्कारलाई भने हामीले प्रश्रय दिनुहुँदैन।
खजूरको आइतबार एउटा चाड हो। हरेक चाडसँग समाजशास्त्र जोडिएको हुन्छ र त्योभन्दा अझ महत्त्वपूर्ण कुरो, यसमा ईश्वरशास्त्र जोडिएको हुन्छ, जसमार्फत परमेश्वरको योजनाको चर्चा गरिन्छ। यस चाडलाई विभिन्न नामहरू दिइएका छन्, जस्तैः प्यासन सन्डे, फिग (नेभारा) सन्डे, विल्लो सन्डे, ब्रान्च सन्डे, ब्लोसम सन्डे आदि। यी अङ्ग्रेजी नामहरू हुन्। बढी चलेको नामचाहिँ ‘पाम सन्डे’ हो। यसलाई नेपालीकरण गरेर खजूरे आइतबार/खजूरको आइतबार पनि भन्ने गरिन्छ। यस लेखमा हामी ‘खजूरको आइतबार’ वा ‘खजूरको चाड’ शब्दावलीबाट पाम सन्डेलाई व्याख्या गर्नेछौँ।
पृष्ठभूमि
खजूरको चाड मोशाद्वारा दिइएको व्यवस्थामा आधारित छ। लेवी २३ अध्यायको ३९–४३मा यस्तो लेखिएको छ,
“‘सातौँ महिनाको पन्ध्रौँ दिनमा आफ्नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्। पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने सात दिनसम्म खुशी मनाउनू। तिमीहरूले वर्षमा सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्तौँ-पुस्ताका लागि अनन्तको विधि होस्। यो तिमीहरूले सातौँ महिनामा मनाउनू। सात दिनसम्म तिमीहरू झुप्राहरूमा बस्नू। सबै स्वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्, र मैले मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूलाई झुप्रामा बस्न लाएको थिएँ भनी तिमीहरूका भावी सन्तानहरूले जानून्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
यसको प्रसङ्ग हेर्नुस्, यो परमेश्वरले मोशालाई छाप्रोवासको चाड मान्नको लागि दिनुभएको आज्ञा हो। यहूदीहरूले मिश्रबाट छुटकारा पाएपछि मरूभूमिमा बिताएको क्षण र त्यहाँ परमेश्वरले गर्नुभएको उपकार सम्झेर सधैँभरि उहाँप्रति आभारी भइरहनको लागि दिइएको एउटा विधि हो।
अहिले सबैले भन्ने गरेको पाम सन्डे, अर्थात् खजूरको चाडको घटना गधाको बच्चा, पाजीमाथि चढेर येशू यरूशलेममा प्रवेश गर्नुभएको घटनाको व्याख्या हो। यो घटना चारै वटा सुसमाचारहरूमा पढ्न पाइन्छ, विशेष गरी यूहन्ना १२,१२–१५बाट पढौँ,
भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
“सियोनकी छोरी, नडराऊ।
हेर, तिम्रा राजा गधाको बछेड़ामाथि
सवार भएर आउँदैहुनुहुन्छ।”
येशू यरूशलेममा धेरै पटक आऊ–जाऊ गर्नुभएको घटनाहरू हामी पढ्दछौँ, तर यस पटकको यात्रा अन्तिम र विशेष किसिमको थियो। यरूशलेम राजाको शहर हो, तर मन्दिरको कारण यो अझ बढी महत्त्वपूर्ण छ। येशू अनौठो राजा! राजा भए पनि उहाँ दरबार होइन, मन्दिरमा प्रवेश गर्नुभयो, जहाँ व्यवस्थाअनुसार मानिसको पाप क्षमाको लागि बलि चढाइँदथ्यो। पशुपक्षीको बलिले क्षणिक समयको लागि मानिसको पाप क्षमा हुँदथ्यो भने येशू आफै सधैँ, सबै र सदाको लागि पुग्ने बलि भएर मन्दिरको शहर यरूशलेम प्रवेश गर्नुभयो। त्यो सिद्ध बलिदान दिनुअघि उहाँले मन्दिरको शुद्धीकरण गर्नुभयो। यहाँ हामीले याद गर्नुपर्ने कुरो यो हो कि थुमालाई बलिदान दिँदा डोर्याएर लानुपर्दथ्यो भने उहाँ, सिद्ध थुमालाई कसैले डोर्याएको थिएन, बरु उहाँले नै मानिसहरूलाई डोर्याउनुभयो।
पहिला पनि येशूलाई मानिसहरूले राजा बनाउने प्रयास गरे, त्यो बेला उहाँले इन्कार गर्नुभयो। यस पालि यरूशलेममा प्रवेश गर्नुहुँदा, उहाँलाई मानिसहरूले राजाको रूपमा स्वीकार गरे पनि आपत्ति जनाउनुभएन। येशू वास्तवमा राजाहरूका महाराजा हुनुहुन्छ, तर पनि उहाँले यो रहस्य सही समय नआउँदासम्म लुकाएर राख्नुभएको थियो। मानिसहरूले उहाँलाई राजाको रूपमा स्वागत त गरे, तर उनीहरूले बुझेको जस्तो राजनीतिक राजा नभएर हृदयमा राज गर्ने राजा हुनुहुन्थ्यो। येशू आज पनि राजाहरूका महाराजा हुनुहुन्छ, जो मृत्युबाट जाँचिनुभयो र पुनरुत्थानद्वारा त्यसमाथि जीत हासिल गर्नुभयो, अनि त्यो जीतमा हामीलाई पनि सामेल गराउनुभयो।
परम्परागत हिसाबले हेर्नुपर्दा, खजूरको आइतबार निस्तार चाड शुरू हुने हप्ताको आइतबार मान्ने गरिन्छ। त्यस आइतबारदेखि अर्को आइतबार, अर्थात् इस्टरसम्मको अवधिलाई ख्रीष्टियानहरूले ‘पवित्र सप्ताह’ भन्ने गरेका छन्।
खजूरको चाडको सुरुआत
खजूरको चाड मान्ने चलन चौथो शताब्दीदेखि यरूशलेमका मण्डलीहरूमा शुरू भएको अनुमान गरिन्छ। मण्डली इतिहासमा यो चाड सुरुआत गर्ने श्रेय यरूशलेमको बिशप सिरिललाई दिइन्छ। सिरिलको जन्म यरूशलेममा, ई सं. ३१५मा भएको थियो भने ई स ३४९मा उनी यरूशलेम मण्डलीको बिशप बने।/1/ सिरिलभन्दा अगाडिका पुस्ताले खजूरको चाड मनाए वा मनाएनन् भन्ने कुरो हामी जान्दैनौँ, तर हामीसँग भएको अभिलेखले सिरिलबाटै शुरू भएको अनुमान गर्न मदत गर्छ। चौथो शताब्दीमा यात्रा गर्ने इगेरिया नाम गरेकी एक ख्रीष्टियान भिक्षुणीले यरूशलेममा बिशप सिरिलको नेतृत्वमा खजूरको आइतबार मानेको दृश्यलाई यसरी बयान गर्छिन्,
सातौं घडीमा मानिसहरू एलेना (जैतून) पहाडतिर जाँदछन्, र तिनीहरूको साथमा बिशप पनि जाँदछन्, जहाँ त्यस दिन र ठाउँको लागि सुहाउने भजन गाइन्छ र श्लोकहरू उच्चारण गरिन्छ र त्यसरी नै अरू पाठहरू पनि पढिन्छ। अनि जब नौ बज्छ, तब तिनीहरू भजन गाउँदै इम्बोमोन, अर्थात् प्रभु स्वर्गमा उचालिनुभएको ठाउँतिर जाँन्छन् र तिनीहरू त्यहाँ बस्छन् किनकि बिशपको उपस्थितिमा मानिसहरूलाई सधैँ बस्न लगाइन्छ, डिकनहरू मात्र सधैं खडा हुँदछन्। त्यस दिन र ठाउँको लागि सुहाउने भजन गाइन्छ र श्लोकहरू उच्चारण गरिन्छ, अनि पाठ पढेर प्रार्थना गरेपछि सबै जना छुट्छन्। जब एघारौं घण्टा आइपुग्यो, तब सुसमाचारको पुस्तकबाट खण्डहरू पढिन्छ, जहाँ हाँगाहरू र खजूरका पात बोकेका बच्चाहरू यसो भन्दै प्रभुलाई भेट्दछन्, ”धन्य हुन् जो परमप्रभुको नाउँमा आउँदछन्”, अनि बिशप जुरुक्कै उठ्छन्, र उनीसँग भएका अरू सबै मानिसहरू पनि उठ्छन्, त्यसपछि जैतून पहाडको टाकुराबाट पैदल हिँड्छन्, सबै जना उनको अगाडि भजन गाउँदै र श्लोकहरू उच्चारण गर्दै, एकअर्कालाई सम्बोधन गर्दै यसो भन्दछन्, ”धन्य हुन् जो परमप्रभुको नाउँमा आउँदछन्।” अनि छिमेकका सबै बच्चाहरू, यहाँसम्म कि हिँड्न नसक्नेहरूलाई पनि उनीहरूका बाबुआमाले काँधमा बोक्दछन्, तिनीहरू सबैले खजूर र जैतुनका हाँगाहरू बोक्दछन् र यसरी बिशपलाई चारैतिरबाट घेरेर लगिन्छ, जसरी प्रभुलाई घेरेर लगिएको थियो। सबैका लागि, विभिन्न तहका, महिला र पुरुषहरू मिलेर यसरी नै बिशपलाई साथ दिँदै एकअर्कालाई सम्बोधन गर्दै पहाडको टाकुरादेखि शहरसम्म र त्यहाँबाट सम्पूर्ण शहर हुँदै (येशू) पुनरुत्थान हुनुभएको ठाउँसम्म बिस्तारै यात्रा गर्दछन् ताकि कोही पनि नथाकून्, र यसरी तिनीहरू निकै अबेर गरेर (येशू) पुनरुत्थान हुनुभएको ठाउँसम्म आइपुग्छन्। अनि त्यहाँ ढिलो गरी पुगे पनि, बत्ती बाल्ने काम हुन्छ, क्रूसनेर गएर प्रार्थना गरिन्छ; त्यसपछि मानिसहरू बिदा हुँदछन्।/2/
यो विवरणले हामीलाई लगभग चौथो शताब्दीदेखि खजूरको चाड मनाउने चलन शुरू भएको दह्रो प्रमाण दिन्छ। समयको अन्तरालमा यसले नयाँ रूप लिएको देखिन्छ। पूर्वीय र पश्चिमी मण्डलीले मान्ने यस चाडको मिति फरक छन्। खजूर पाइने ठाउँका मण्डलीहरूमा खजूरका पातहरू एकअर्कासँग बाँड्ने चलन छ र खजूर नपाइने ठाउँमा अरू रूखका स्याउलाहरू पनि चलाइन्छ। नेपालमा पनि यो चाड मान्न थालिएका छन्।
निष्कर्ष
पक्कै पनि चौथो शताब्दीभन्दा अघि खजूरको चाड मनाइएन किनभने सबैजसो चाडहरू रोमी सम्राट् कन्स्टन्टाइनको पालामा मण्डलीहरूले खुला आराधना गर्ने स्वतन्त्रता पाएपछि मात्र सुरुआत हुँदछन्। अचेलका मण्डलीहरूले यो चाड मान्ने कि नमान्ने भन्ने विषयमा यति थाहा गर्नुपर्दछ कि सबै मानव जातिलाई पाप क्षमा दिनको लागि येशू बलिको थुमा भएर बडो हर्षसाथ यरूशलेम प्रवेश गर्नुभएको घटनालाई चाडको रूपमा उतारेर चर्चा गर्नुमा कुनै समस्या देखिँदैन, तर हरेक चाडमा गैरबाइबलीय तत्त्वहरू जोड्ने परीक्षा छ,
जस्तैः खजूरको चाडमा बाँडिएका ती पातहरू घरमा लगेर झुण्डाउँदा आशिष् आउने, चाडमा चलाइएका खजूरका पातहरू माटोमा गाड्दा अन्न सप्रने विश्वास राख्नु र चिहानहरूलाई सजाउनुजस्ता कार्यहरू गैरबाइबलीय हुन्, विशेष गरी चिहानलाई खजूरका पातहरूले सजाउने चलन जर्मनीमा छ।/3/
धार्मिक वा अन्य प्रयोजनको हिसाबले हेर्दा, खजूरले विजयीलाई सङ्केत गर्दछ। येशू जयजयकार गरिनुपर्ने प्रभु हुनुहुन्छ, जसले मृत्युमाथि विजयी हासिल गर्नुभयो र हामीलाई पनि त्यस विजयीमा सामेल गराउनुभयो।
End Notes
/1/ Church Publishing, Holy Women, Holy Men: Celebrating the Saints (New York: Church Publishing, 2010), 274.
/2/ M.L. McClure and C. L. Feltoe, The Pilgrimage of Etheria (London: Society for Promoting Christian Knowledge, 1919), 65–67. https://www.ccel.org/m/mcclure/etheria/etheria.htm as visited on April 6, 2020.
/3/ https://www.catholicculture.org/culture/library/view.cfm?recnum=105 History of Palm Sunday