ख्रीष्टियानले जन्म दिन मनाउन मिल्छ कि मिल्दैन?
जन्म दिन हाम्रो सुरुआतको बिन्दु हो। आफू जन्मिएको दिन हरेक वर्ष फर्केर आउँदा जोकोहीलाई पनि त्यसले बिगतलाई मूल्याङ्कन गरेर बाँकी रहेको जीवन बिताउन प्रेरणा दिन्छ र जिम्मेवार बनाउँछ। यो जीवनलाई नियाल्ने उत्तम अवसर हो र संसारमा धेरैले मनाउने उत्सवहरूमध्ये एउटामा पर्दछ। वास्तविकता यो भए पनि जन्म दिन मान्नु हुन्छ र हुँदैन भन्ने ख्रीष्टियानहरू समूहहरू भेटियो। अर्कोतिर ख्रीष्टियानहरूले जन्म दिन मनाएको निहूँ झिकेर याहोवाका साक्षीजस्ता झूटा शिक्षकहरूले उल्टै हामीलाई झूटो सावित गर्ने प्रयास गरेको पनि भेटियो। उनीहरूले गर्ने पहिलो तर्क
- ”जन्म दिन मनाउनू’ भन्ने आज्ञा बाइबलमा कहाँ छ? बाइबलमा नभएको रीतिविधि मान्नेहरू झूटा हुन्। के येशूले आफ्नो जन्म दिन मनाउनुभयो र त्यसलाई मनाउने आज्ञा दिनुभयो? के प्रेरितहरूले मनाए?”
दोस्रो तर्क,
- जन्म दिन मनाउनु दुष्ट्याइँ हो। जन्म दिन मनाउने बेला बाइबलमा अप्रिय घटनाहरू घटेका छन्, जस्तैः फारोको जन्म दिन मनाउने बेला योसेफसँगै जेलमा परेको एक जना कैदी मारियो र अर्को छोडियो। त्यसै गरी हेरोदले जन्म दिन मनाउने बेला बप्तिस्मा दिने यूहन्ना मारिए। जन्म दिन नमनाएको भए यस्तो दुर्घटना हुन पाउने थिएन।
याहोवाका साक्षीहरूले उठाएका यी तर्कहरू सुनेर ख्रीष्टियानहरू झसङ्ग हुनुपर्दैन किनकि मुक्तिसँग सरोकार नराख्ने चाल चलनहरूलाई बाइबलले ‘मान्नू’ वा ‘नमान्नू’ भन्दैन। आज हामी जन्म दिन मनाउन मिल्छ वा मिल्दैन भन्ने विषयमा बाइबलीय, ईश्वरशास्त्रीय र सांस्कृतिक दृष्टकोणबाट विश्लेषण गर्न गइरहेका छौँ।
जन्म दिन मनाइएका दुइटा घटनाहरू बाइबलमा उल्लेख गरिएका छन्। उत्पत्ति ४० अध्यायमा फारोको जन्म दिनमा योसेफसँगै रहेका दुई जना राजद्रोहीमध्ये एक जना मारिए भने अर्को जोगिए। त्यसै गरी मत्ती १४ अध्यायमा हेरोदले बप्तिस्मा दिने यूहन्नाको शिर काट्यो। बाइबलमा उल्लेख गरिएका यी दुवै घटनाहरूमा हत्याको प्रसङ्ग जोडिँदा हामीलाई पनि कताकता जन्म मनाउनु ठीक छैन भन्ने लाग्न सक्दछ, तर यी दुवै खण्डहरूले हामीलाई दिन खोजेको सन्देस जन्म दिन मनाउनु हुँदैन भन्ने होइन – त्योभन्दा पनि गहिरो अर्थ छ। फारोको जन्म दिनको घटनालाई हेर्नुस्, त्यहाँ मृत्युभन्दा पनि छुटकाराको सन्देस बढी प्रभावशाली छ। यसै गरी यूहन्ना मारिनुमा उनको कुनै दोष छैन। आफ्नो जन्म दिन मान्दै गर्दा उनी मारिएको भए, परमेश्वरको दण्ड हो कि पनि भन्न सकिन्थ्यो, तर त्यहाँको परिवेश अर्कै छ। जन्म दिनको विरोध गर्ने झूटा र सच्चा ख्रीष्टियानहरूले यो खण्डलाई चलाएर अचेल ख्रीष्टियानहरूले नाच्न नहुनेसम्मका तर्क दिएका छन्। यस अर्थमा यीचाहिँ दुरुपयोग गरिएका खण्डहरू पनि हुन्।
बाइबलले हामीलाई जन्म दिन मनाउनु हुन्छ र हुँदैन भन्ने आज्ञा दिँदैन। ‘नमनाउ’ भन्दाभन्दै पनि मनाएको भए झूटो ठहरिन्थ्यो। ‘मनाऊ र नमनाऊ’ भनेर स्पष्ट आज्ञा नदिइएको अवस्थामा विवेकले साथ दिन्छ, यो वचनसँग जुध्दैन र यसले विश्वासलाई बाधा दिँदैन भने त्यसमा केही खराबी देखिँदैन। अनि इच्छा नलाग्नेले नमनाउँदा प्रभुको आदर हुन्छ भने त्यो पनि स्वीकार्य छ। यसकारण मान्नेले नमान्नेलाई र नमान्नेले मान्नेलाई खोट लाइरहनुपर्ने कारण केही पनि छैन।
गाँठी कुरो, के जन्म दिन मनाउने चलन मूर्तिपूजासँग सम्बन्धित छ?
नेपालमा जब कुनै पनि नयाँ चलनहरू भित्रिन्छन्, तब ख्रीष्टियानहरूलाई दोष लाइन्छ, जब कि त्यस्ता चलनहरूसँग बाइबल र ख्रीष्टियान संस्कारको कुनै नाता हुँदैन। केक काट्नु, केकलाई अनुहारमा दल्नु, मैन बत्ती फुक्नु, जोकरले लाउने सोली टोपी लाउनु, शुभकामना दिनुको पछाडि बाइबलीय अर्थ छैन।
जन्म दिनको अवसरमा केक काट्ने र बत्ती निभाउने चलनको सुरुआत प्राचीन युरोपमा भएको थियो। जन्म दिन मनाउने व्यक्तिलाई भूतप्रेतबाट बचाउन र आगामी वर्षमा उसको सुरक्षालाई सुनिश्चित गर्नको लागि बधाइ दिने, उपहार दिने, उत्सव मनाउने, मैनबत्ती जलाउने गरिँदथ्यो….ग्रीकहरू यो विश्वास गर्दथे कि हरेकसँग रक्षा गर्ने आत्मा वा भूतात्माहरू हुँदछन्। जन्मने बेला ती आत्माहरू उपस्थित हुँदछन् र तिनीहरूले उसको जीवनभरि नजर लाइराख्छन्….रोमीहरूले पनि यो चलनलाई अँगाले…केकमाथि मैनबत्ती बालेर राख्ने चलन ग्रीकहरूले शुरू गरेका थिए… महसँग बनाइएको चन्द्रआकारको केक र बालिएका मैनबत्तीहरू आर्तेमिस मन्दिरका वेदीहरूमा चढाइँदथे…विशेष जादू (मन्त्र) फुकेर जन्म दिनको शुभकामनासँगै मैनबत्ती दिनुपर्छ भन्ने विश्वास जनमानसमा थियो।/1/[1] जन्म दिन मनाउने व्यक्तिले मनमा एउटा इच्छा राखेर त्यसलाई निभाउँदथ्यो। त्यसपछि मात्र उसले उपहारहरू खोल्दथ्यो। मैनबत्तीलाई जीवनको अन्धकारमा ज्योतिको रूपमा लिँदथे।/2/[2] साथीलाई जन्म दिनको शुभकामना दिनुचाहिँ दुष्ट आत्माबाट सुरक्षित होऊन् भन्ने कामना हो। जन्म दिनमा होहल्ला मच्चाएपछि दुर्भाग्य ल्याउने आत्मा भाग्छ भन्ने विश्वास भएको कारण त्यो दिन कराउने चलन पनि रहेको बुझिन्छ। यसलाई छरितो वाक्यमा भन्नुपर्दा, जन्म दिन मनाउनुमा मानिसको गह्र–दशा कटाउने चलनले भूमिका खेलेको छ।
सायद तपाईंले सुन्नुभएकै होला, शैतानको पनि मण्डली छ। तिनीहरूले आफ्नो जन्म दिनलाई सबैभन्दा महान् उत्सवको रूपमा लिँदछन्।/3/[3] यी सबै चलनहरूलाई दृष्टिगत गरेर नै हुनुपर्दछ, चौथो शताब्दीसम्म ख्रीष्टियानहरूले जन्म दिन मनाउने चलनलाई मूर्तिपूजा सम्झेर बहिष्कार गरे।/4/[4] मूर्तिपूजासँग सम्बन्धित यस्ता चलनहरूलाई सिको नगर्नको लागि लेवी १८,३ र यर्मिया १०,२–३ जस्ता खण्डहरूमा चेताउनी दिइएको छ।
नेपालमा जन्म दिन मनाउने चलन
नेपालमा जन्म दिन मनाउने चलन बाहिरबाट झिकाइएको भन्दै ख्रीष्टियानहरूलाई धारे हात लाएर दोष दिइन्छ, तर यो सही होइन। त्यो बेलाको कुरा गर्दैछु, म सानो हुँदा पुस १४ गते स्कूल बन्द गरेर ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ! श्री ५ बडा महाराजधिराज, अमर रहून्!” जस्ता नारा भट्याएर राजा बीरेन्द्रको जन्म दिन मनाउन लगाइन्थ्यो। विद्यार्थीहरूलाई गाउँको गौँडा–गौँडामा जुलुस बाँधेर हिँड्न बाध्य पारिन्थ्यो। म आफै पनि हिँडेको छु। त्यो दिन जुलसमा सहभागी हुन बाध्य पारिन्थ्यो। अब तपाईंलाई थाहा भयो कि नेपालमा जन्म दिन मनाउने चलन बाहिरबाट झिकाइएको नभएर राजाहरू र खानदानीहरूको कब्जामा रहेको चलन थियो, जसको माध्यमबाट तिनीहरूको देवत्करण गरिन्थ्यो। यो सर्वसाधारणको हैसियतभन्दा बाहिर थियो। सायद त्यही हैसियतमा पुगेर नै होला प्रधानमन्त्री केपी ओलीले देशको नक्साको केक बनाएर काटे।
यो कुरोमा चिनियाँ नेताहरू बुद्धिमान् देखिन्छ। माओ र ताङले आफूहरू सत्तामा हुने बेला कहिले पनि पूरा जन्म मिति खुलाएनन्। तिनीहरूले जन्म मिति लेख्दा साल र महिना मात्र लेखे (कातिक १६, २०७६, कोसेली छ)। व्यक्तिपूजा नहोस् भन्नको लागि यो तरिका अपनाइएको अनुमान गरिन्छ।
बाइबलीय दृष्टिकोण
जन्म दिन मनाउनु हुन्छ वा हुँदैन भनेर छिनाफाना गरिदिने बाइबलीय खण्ड छैन। परमेश्वरको कुनै पनि जनले यो मनाएन – उही फारो र हेरोदले मात्र मानेका छन् जो परमेश्वरका जनहरू होइनन्। जन्म दिन बारे बाइबलीय दृष्टिकोण हुँदै नभएको चाहिँ होइन। अय्यूब र यर्मियाले आफू जन्मेको दिनलाई सरापेका छन्, तर यसबाट जन्म दिन मनाउनु हुँदैन भनेर सिद्धान्त कोर्न मिल्दैन। उपदेशक ७,१मा पनि लगभग उस्तै अवधारण पढ्न पाइन्छ। त्यहाँ लेखिएको छ, ”मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो।” यो पदले जन्म दिनलाई इन्कार गर्दैन, बरु यसको पनि महत्त्व छ भन्ने कुरो प्रष्ट पार्छ – यति हो कि यो मृत्युको दिनभन्दा उत्तम होइन।
जन्म दिनप्रति कोही पनि आक्रमक हुनु पर्ने कारण छैन किनकि हाम्रो आयुमा थपिने हरेक दिन परमेश्वरको दान हो।
भजन ११८,२४मा लेखिएको छ, ”आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।” रोमी १४,६लाई पनि ध्यान दिऔँ, यस्तो लेखिएको छ, ”जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ।” यसकारण हामीले पाएका दिनहरूलाई हामी उहाँको आशिष पाइरहने मौकाको रूपमा लिँदछौँ।
यतिका जानकारी पाइसकेपछि, जन्म दिन मनाउनु हुँदैन भनेको खण्डमा ठूलो लफडा हुने निश्चित छ र हाम्रो समस्या जन्म दिनप्रति होइन, तर मनाउने तरिकाप्रति हो। यसकारण ख्रीष्टियानहरूले जन्म दिन मनाउने नै हो भने दुइटा कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छः पहिलो, यो यस्तो कार्यक्रम होस् जसबाट जीवन दिनुहुने परमेश्वरलाई आदर होस्। जीवन उहाँबाटै आउँछ। भजन १३९,१३देखि तलका पदहरू पढ्नुहोस्। यस्तो लेखिएको छ, ”तपाईंले नै मेरा भित्रका अङ्ग–प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मेरी आमाको गर्भमा रच्नुभयो” – १३ पद मात्रै पढेँ – बाँकी आफै पढ्नुस्। गर्भमा भएको अदृश्य बच्चा अस्तित्वमा आउने मिति सम्झेर जीवनदातालाई आदर गर्नु जीवनको उत्सव मनाउने उत्तम समय हो। दोस्रो, परमेश्वरले जीवन दिने कामको लागि बुबाआमालाई सहकर्मी बनाउनुभएको कारण उहाँहरूलाई पनि विशेष सम्मान गर्ने अवसर हो। याद गर्नुस्, परमेश्वर जीवनदाता हुनुहुन्छ भने बुबाआमा जन्मदाता हुनुहुन्छ। बुबाआमालाई आदर गर्ने आज्ञा बाइबलीय हो (प्रस्थान २०,१२)। ख्रीष्टियानहरूले जन्म दिन मनाउँदा यी कुराहरूमा ध्यान दिँदैनन् भने यो फगतको एउटा चलन र सिको मात्र हुनेछ।
निष्कर्ष
जन्म दिन मान्ने वा नमान्ने भन्ने विषय ठूलो समस्या होइन, तर केक काटेर मैनबत्ती निभाउने तरिकालाई ख्रीष्टियानहरूले अपनाउने सम्बन्धमा भने ईश्वरशास्त्रीय हिसाबले प्रश्न उठाउने ठाउँ छ किनकि केक काट्ने र मैनबत्ती बाल्नु भनेको एक समय भूतात्मालाई मन्छाउने काम थियो। यो सांस्कृतिक विषय मात्र नभएर ख्रीष्टियान विश्वाससँग जुधिरहने ईश्वरशास्त्रीय विषय पनि हो। यहाँनेर याहोवाका साक्षीहरू सही छन् भन्ने पनि होइन किनकि तिनीहरूको नियत नै अर्को छ – यहाँ चर्चा नगरौँ। हाम्रो समस्या मनाउने तरिकासँग मात्र हो, जन्म दिनसँग होइन। आफू जन्मेको दिन हरेक वर्ष फर्किरहन्छ। यसलाई तपाईं इन्कार गर्न सक्नुहुन्न र प्राचीन युरोपियनहरूले आर्तेमिस देवीलाई पुजेको कुरोसँग जोड्नु पनि पर्दैन। साथै येशूले मान्नुभएन र मनाउने आज्ञा पनि दिनुभएको छैन भन्ने मित्रहरूले ध्यान दिएर सुन्नुस्, तपाईंका तर्कहरू अपरिपक्का छन्। येशूले जे लाउनुहुन्थ्यो – त्यही लाउनुपर्ने, येशूले जे खानुहुन्थ्यो – त्यही खानुपर्ने हो भने, हामी पनि क्रूसमा टाँगिनुपर्ने हुन्छ।
जन्म दिन मान्ने चलनलाई बाइबलले न मनाही गर्छ, न त आज्ञा नै दिन्छ। प्रभुलाई इज्जत हुने तरिकाबाट मनाउँदा खास अप्ठेरो देखिँदैन। जबसम्म मूर्तिपूजा हुँदैन, परमेश्वरको महिमा यसले खोस्दैन, तबसम्म यो ठीक छ, तर यसले व्यक्तिपूजाको रूप लिन्छ भने यो बाइबलीय होइन। अन्तिम टिप्पणीः अचेल मनाइने जन्म दिनहरू शालीन देखिँदैन, जस्तैः अनुहारभरि केक दलेर गरिने फगतको मनोरञ्जनले परमेश्वरको आदर भएको जस्तो लाग्दैन।
End Notes
/1/ Ron C. Kimrey, Mea-Culpa (np: Xlibris, 2006), 225.
/2/ Zsuzsana Summer & Myriam Maytorena, Spirituality: True Odysseys, an exploration of personal and spiritual development for everyday living (New York: Writers Club Press, 2002), 70.
/3/ Bob & Gretchen Passantino, Satanism (Grand Rapids, Michigan: Zondervan, 1995), 49.
/4/ Ron C. Kimrey, Mea-Culpa (np: Xlibris, 2006), 225.