क्रिसमस ईभको सुरुआत यसरी भयो

मेरो अनुभवबाट शुरू गर्दैछु। मेरो ईश्वी संवत् १९८९ को क्रिसमस भारतको खर्साङमा बित्यो । सी एन आई चर्चले आयोजना गरेको ‘क्यान्डल लाइट सर्भिस’ मा भाग लिने मौका पाएको थिएँ। रातको समय, सबैको हातमा मैनबत्ती, येशूको जन्मसम्बन्धी भजनगान, कविता वाचन, वचन प्रचार इत्यादि आकर्षणको विषय थियो । ख्रीष्टमसकै लागि रचिएका नयाँ गीतहरूले मलाई प्रभावित पार्यो । त्यहाँबाट मलाई गितार बजाउने प्रेरणा मिल्यो। मण्डली भवनभित्रको बिजुली बत्ती निभाइएको थियो । गोठालाहरू अँध्यारोमा हुँदा येशू जन्मनुभएको खबर स्वर्गदूतले दिएको झल्को त्यस ‘क्यान्डल लाइट सर्भिस’मा उतारिएको थियो । यसको मूल सन्देश अरू पनि थियो कि सो थाहा भएन, तर पापको अन्धकारमय युगमा येशूको जन्मलाई पर्खेको स्पष्ट देखिन्थ्यो । सी एन आई चर्च पुरातन मण्डलीभित्र पर्दछ, तर त्यहाँ नेपालीपन देख्न पाइन्थ्यो। त्यस बेला नेपालमा अहिलेको जस्तो खुलेआम क्रिसमस मान्ने चलन भित्रिएको थिएन, तर अहिले नेपाली मण्डलीहरूमा ख्रीष्टमसको नाममा विभिन्न चलनहरू छिरिसकेके छन्, त्यसमध्ये एउटाचाहिँ क्रिसमस ईभ पनि हो । यो मान्न मिल्छ कि मिल्दैन भनेर प्रश्न सोध्ने गरिन्छ। मान्नुहुन्छ वा हुँदैन भनेर म सिफारिस गर्न गइरहेको छैनँ, तर म यसको ऐतिहासिक पक्षलाई केलाउँदैछु। मान्ने वा नमान्ने कुरो तपाईंकै हातमा छोड्छु।
ख्रीष्टमस ईभको ऐतिहासिक पृष्ठभूमि
क्रिसमस मान्ने चलन थालिएपछिका प्राचीन मण्डलीहरूले क्रिसमसको अगिल्लो रात बेलुकासम्म उपवास बसेर परमप्रभुको आगमनको तयारी गर्दथे, तर पछिल्लो समय मानिसहरूमा सुखविलासले प्रवेश पाएपछि उपवास बसेनन्। मण्डलीका धर्मगुरुहरूले ‘वचन’ अर्थात् परमेश्वर मानिसमा परिणत हुनुभएको खुसियालीमा वचन प्रचार गर्दथे। क्रिसमसको अगिल्लो दिन ग्रीक मण्डलीका सन्त ग्रेगोरी, ल्याटिन मण्डलीका सन्त बर्नार्ड, सिरियन मण्डलीका सन्त एफ्राइमले कविताहरू सुनाएर आउन लाग्नुभएको उद्धारकर्ताको प्रतीक्षा गर्न मानिसहरूलाई उत्साह दिँदथे।
क्रिसमस ईभको मौका पारेर युरोपमा ठूलो काम भएको इतिहास पढ्न पाइन्छ, विशेष गरी यही अवसरमा आधुनिक फ्रान्सको जन्मदाता मानिने फ्रान्सको राजा क्लोभिसले बप्तिस्मा लिएको घटना बढी चर्चाको विषय बनेको छ। उनको बप्तिस्मा ईश्वी संवत् ४९६मा भएको देखिन्छ। डरलाग्दो लडाकू मानिने क्लोभिस पछि नम्र ख्रीष्टियान बने। मूर्तिपूजक संस्कारबाट फ्रान्सलाई मुक्तितिर डोर्याउने कामको थालनी उनीबाट भयो।
यसैको सय वर्षपछिको कुरो हो कि अर्ध–सभ्य अङ्ग्रेजहरूलाई सुसमाचार सुनाउनको लागि पोप ग्रेगोरी महान्ले क्यान्टरबरीका सन्त अगस्टिनलाई खटाए। यहाँ नझुक्किनुहोस्, अगस्टिनहरू दुई जना छन्, एक जनाचाहिँ हिप्पोको अगस्टिन हुन्। तिनीहरूका राजा एथेलबर्टलाई क्रिसमस ईभको अवसर पारेर मण्डलीमा ल्याइयो । अगस्टिनले योर्क भनिने ठाउँमा सुसमाचार प्रचार गरे। विश्वास गर्ने ठूलो भीडले बप्तिस्माको माग गरेपछि महिला र केटाकेटीबाहेक १० हजार जना पुरुषहरूलाई पानीको बप्तिस्मा दिइएको थियो। अगस्टिनले क्रिसमस ईभलाई महान् दिनको रूपमा घोषणा गरे । यो पाँचौँ र छैटौँ शताब्दीको घटना हो।
‘क्रिसमस ईभ’को अर्थ क्रिसमसभन्दा अगिल्लो (दिनको) रात हो। यो चलन जर्मनीमा शुरू भएको मानिन्छ । क्रिसमसको पूर्वसन्ध्यामा गीत गाउनेहरूलाई अङ्ग्रेजीमा Waits नामबाट चिनिन्थे। यसलाई ‘Watchnight/Waitnight’ पनि भनिन्थ्यो । भेडाको रखावाली गरिरहेको बेला गोठालाहरूकहाँ स्वर्गदूत देखा परेको सम्झनामा गीत गाउने चलन शुरू भएको मानिन्छ।
प्राचीन स्केन्डिनेभियामा क्रिसमसको मुख्य चाड ख्रीष्टमस ईभमा नै मनाइन्थ्यो । परिवार र इष्टमित्रहरू विशाल भोजमा भेला हुँदथे। बेलायतमा चाहिँ मध्यरातमा विश्वासीहरू भेला हुँदथे । अधिकांश मण्डलीहरूमा क्रिसमसको अघिल्लो रात जाग्राम बस्ने चलन थियो। ठूलो आकारको मैनबत्ती बालिन्थ्यो, जसलाई ‘क्रिसमस क्यान्डल’ भनिन्छ।
दाउराको मूढो जलाएर राती आगोको धूनी लाउने चलन पनि थियो। यसलाई युल–क्लग वा क्रिसमस–ब्लक भनिन्छ। राती आगो बालेर उज्यालो पारिनुलाई रात दिनमा परिणत भएको सङ्केतको रूपमा लिँदथे। यस्तो चलन अझै पनि उत्तरी बेलायतमा कायम छ।
निष्कर्ष
बाइबलीय हिसाबले ‘क्रिसमस ईभ’ लाई जायज ठहर्याउने कुनै खण्ड छैन। येशू जन्मनुभएको खबर सुन्न आतुर भएर पर्खिरहने मानिसहरूको विषयमा लेखिएको छैन, बरु बेथलेहेममा जन्मनुहुने अगमवाणी भैसक्दा पनि त्यो शहर बेखबर थियो। येशूलाई स्वागत गर्ने कुनै सूर–सार देखिँदैन। उहाँलाई ओत लाग्ने ठाउँसम्म कसैले दिएन। बालक येशूलाई भेट्न त गए, त्यो स्वर्गदूतले खबर दिएपछि मात्र। अनि भेट्न जानेहरू अरू नभएर गोठालाहरू थिए। यसकारण क्रिसमस ईभलाई चाडको रूपमा मान्ने नै हो भने, येशूको लागि बेथलेहेमजस्तो येशूको जन्म बारे बेखबर रहनु हुँदैन। हृदयलाई नम्र पारेर उहाँलाई हृदयमा स्वागत गर्नुपर्दछ।
मूढा बाल्ने वा धुनी लाउने चलन पनि भित्रिसकेको हुँदा यसले परमेश्वरको इज्जत हुन्छ कि हुँदैन, सो जाँच्नु पर्दछ । यस्तो सन्देश नजाओस् कि ख्रीष्टियानहरूले पनि अग्नि पूजा गर्छन्। नेपाली ख्रीष्टियानहरूले चाड मान्नु भनेको अहिलेसम्म सङ्गतिमा केन्द्रित देखिन्छ, जहाँ भजनगान, प्रार्थना, वचन र हल्का खानपीन हुँदछन्। यो सामाजिक भेला हो । यहाँसम्म ठीकै देखिन्छ । यस्ता अवसरहरूले सुसमाचार बाँड्ने मौका दिन्छ भने यसलाई अझ धर्मशास्त्रीय र ईश्वरशास्त्रीयसम्मत् बनाएर प्रभावकारी बनाउँदै लानु आवश्यक छ, तर यसो गरिएन भने यो विकृति मात्र हुन बेर छैन।



